front full 2nd add Top

स्थानीय चुनाव २० बर्ष पछि हुँदैछ भन्नुभन्दा पनि राज्य पुन:संरचनापछि अथवा राजतन्त्रात्मकबाट मूलुक गणतन्त्रात्मक व्यवस्थामा परिणत भएपछि हुन लागेको स्थानीय निकाय अथवा सरकारको चुनाव पहिलो पटक हुँदैछ भन्दा सान्दर्भिक होला। विगतमा जिल्ला प्रशासन र सिंहदरबारबाट प्राप्त गर्न पाईने सेवा र सुविधा अब गाउँपालिका कार्यालयबाट नै सर्वसाधारण सेवाग्राहीले प्राप्त गर्ने भएको हुँदा यो हुन लागेको स्थानीय निकाय/सरकारको चुनावलाई २० बर्ष अगाडिको चुनावसँग तुलना गर्नु मिल्दैन।

स्थानीय निकायको चुनावमा कस्तो नेता/उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा आम सर्बसाधारण नेपाली जनता अब सचेत र चनाखो हुनु अत्यन्तै जरुरी छ। राष्ट्र परिवर्तन, समृद्धि र विकासका लागि कुशल, इमान्दार, योग्य र दक्ष राजनीतिज्ञको आवश्यक पर्छ। त्यस्तो नेता चुन्ने अवसर र माध्यम नै चुनाव हो। आम सर्वसाधारण जनताले इमान्दार, कुशल र दक्ष नेता/उम्मेदवार चिन्न सकेन भने समाज र सिङ्गो राष्ट्रले नै दु:ख पाउँछ।

आम सर्वसाधारण नेपाली जनता विगतका चुनावहरूबाट अनुभवी भएका छन्। विगतका अनुभवलाई ध्यानमा राखेर अबको चुनावमा खसी-बोका जस्तै सिमित पैसामा बिक्नु हुँदैन। क्षेणिक आनन्दका लागि एक गिलास रक्सीमा बिक्नु हुँदैन। एक छाक मिठो खाने निहुँमा कुनै पनि नेताले आयोजना गरेको भोजभतेरमा सरिक हुनु हुँदैन। नेताले उपलब्ध गराएको १-२ लिटर पेट्रोलको प्रलोभनमा पर्नु पनि हुँदैन। र, नेताका गुलिया र बनावटी भाषण प्रति बिश्वस्त हुनु पनि हुँदैन।

विगतमा हामी नेपाली आम जनताहरूले नेताहरूका यी सबै गतिविधिहरूलाई नजिकबाट बुझ्न र चिन्न नसक्दा नै आज नेपाल विश्व कै अति गरिव र बिपन्न राष्ट्रको सूचीमा दर्ज भएको छ। यसको जिम्मेवार आम नेपाली जनताले पनि लिनुपर्छ। किनकि,गलत, बेइमानी, अयोग्य, अदक्ष, भ्रष्ट र असक्षम नेतालाई चुनेर पठाउँने हामी आम जनता नै हौँ।

४० बर्ष अगाडि, थाईल्याण्ड, सिंगापुर, दक्षिण कोरिया र नेपालको आर्थिक अवस्था समान थियो। आज ति देशहरू विश्व कै अति विकसित मूलुकको सूचीमा दर्ज भईसकेका छन् । तर, नेपाल आजसम्म विश्व कै अति गरिब राष्ट्रको सूचीमा छ। यस्तो किन भयो? के नेपालमा विकासका लागि श्रोत र साधन नभएर हो ? होइन, नेपाल एक यस्तो राष्ट्र हो जहाँ प्रकृतिले सबै भन्दा बढी श्रोत र साधन दिएको छ ।

८४ हजार  मेगावाट उर्जा उत्पादन गर्न सक्ने नदिनाला छन्, नेपालमा । तर, हामी नेपालीहरू पर्याप्त विधुत बिना बाँचिरहेका छौँ । हामी आम नेपाली जनताले सक्षम र इमान्दार नेता र नेतृत्व चुन्न सके हजारौं मेगावाट उर्जा उत्पादन गर्न सक्छौं । देशलाई आवश्यक उर्जा (बढीमा तीन हजार मेगावाट) राखेर हजारौं मेगावाट उर्जा अन्य देशलाई बेच्न सक्छौं। त्यसबाट मात्रै नेपालले मासिक खर्ब भन्दा बढी आम्दानी गर्न सक्नेछ।

आधुनिक प्रविधि प्रयोग गरेर खेती गर्ने हो भने देशमा १० करोड मानिसले खान पुग्ने जमिन हामीसँग छ। तर, जम्मा पौने तीन करोड नेपाली जनताले पनि भएको आफ्नो जमिन बाँझो छाडेर खाद्यान्नमा भारतसँग निर्भर हुनु परेको छ।

विकसित राष्ट्र, जस्तै: खाडी राष्ट्रहरूका मरुभूमि जमिनमा युरोपबाट पिट्मोस (उर्वरा माटो) र फ़र्टिलाइजर (मल) निर्यात गरि आधुनिक प्रविधिद्वारा खेती गरेर कृषिमा चमत्कार गरिसकेका छन् । तर, हाम्रो देश नेपालको भूमिमा न त विदेशबाट पिट्मोस नै ल्याउनु पर्छ न त रासायनिक मल नै। आधुनिक पशुपालन तथा फार्म खोलि लाखौं टन प्रांगारिक मल उत्पादन गरेर आधुनिक प्रविधिद्वारा देशमा कृषि क्रान्ति गर्न सक्ने अवस्था छ।

अमूल्य जडिबुटी नेपालमा छन्। त्यसलाई संरक्षण, संवर्द्धन र विदेश निर्यात मात्र गर्न सके खरबौं रुपैयाँ स्वदेश भित्र्याउन सकिन्छ। प्रसस्त नगदेवाली जस्तै अदुवा, अलैंची, चिया, कफी, स्याउ, सुन्तला उत्पादन गर्न सकिने जमिन प्रकृतिले दिएको छ। त्यसलाई परम्परागत रूपमा भन्दा आधुनिक प्रविधिद्वारा कृषि गरेर बढी भन्दा बढी उत्पादन गरि विदेश निर्यात गरेर खरबौं रुपैयाँ नेपालमा भित्र्याउन सकिन्छ।

अन्तर्राष्ट्रिय पर्यटन बोर्डले पर्यटन क्षेत्रमा नेपाललाई विश्व कै दश उत्कृष्ट गन्तब्य राष्ट्रमा सूचिकृत गरेको छ। तर, देशमा भौतिक पूर्वाधार विकास कै अभावले गर्दा नेपालमा प्रयाप्त पर्यटक भित्र्याउन सकेको छैन। मूलुकमा स्थायी शान्ति कायम गरेर भएको भौतिक श्रोत र साधनलाई व्यवस्थित गर्ने लगायत विश्व कै शान्तिका अग्रदूत भगवान बुद्धको जन्म स्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन मात्र गर्न सके करोडौं पर्यटक नेपाल भित्र्याउन सकिन्छ र देशमा खरबौं डलर भित्र्याउन सकिन्छ ।

नेपालको समृद्धि र विकासका लागि माथि उल्लेखित प्रचुर सम्भावनाहरूलाई कसले पहल र कार्यन्वयन गर्ने ? त्यहि राजनीतिक दल र तिनका नेताहरूले होइन ? देशमा प्रजातन्त्र स्थापना भएको आज ७० बर्ष हुन लागिसक्यो। तर, देशको विकास हुन सक्दैन, किन ? विश्व विज्ञान र प्रविधिले चल्ने आधुनिक संसार भईसक्यो। तर, नेपाल आजसम्म बिना खाद्यान्न र बिना उर्जा बाँच्नु पर्ने वाध्यता छ, किन ? के यो राजनीतिक दल र तिनका नेताहरू कै असक्षमता, बेइमानी, अदुरदर्शिता, तिनीहरूबाट नै चरम भ्रष्टाचार र अदक्षता कै कारणले होइन ?

फेरी भन्छु, यसको जिम्मेवार तपाई हामी आम नेपाली जनता पनि हौँ। किनकि तिनीहरूद्वारा विगतका चुनाव ताका हामी पैसामा बिकेर असक्षम नेतालाई जिताएर पठायौं। तिनीहरूले आयोजना गरेका भोजभतेरमा सरिक भएर तिनीहरूलाई नै मतदान गरि जिताएर पठायौं। तर, हामीलाई बाँडेका ति पैसा र खिलाएका भोजभतेरको खर्च ति नेताहरूले राज्यको ढुकुटी रित्याएर देश र जनतालाई लुटीरहेको कुरा हामीले कहिल्यै थाहा पाएनौं।

अब, हामी कुनै प्रलोभनमा नफसौं। खसी-बोका जस्तै पैसामा नबिकौं। नेताहरूले आयोजना गरेका कुनै पनि भोजभतेरमा पनि सरिक नहोऔं। जाँड-रक्सि र पेट्रोल बाँड्ने नेताहरू देखि पनि टाढा होऔं। र, दक्ष, इमान्दार, सक्षम, योग्य र प्रष्ट राजनीतिक दर्शन (भिजन) भएको/बोकेको उम्मेदवारलाई जिताऔँ।

- लेखक मगर, साउदी अरबमा रहेर पहिचानवादी समाजसेवी अभियन्ता हुनुहुन्छ । 

sd addback 1st